काठमाडौं, ६ असोज । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाईएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन् ।
तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेपछि सोमवार बिहानै उनको नाम काटेर पुनः चार जनाको नामसूची राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको छ । हिजोको सूची सच्याएर आज पुनः चार मन्त्रीको नाम मात्र पठाइएको छ ।
आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन्। शपथ समारोह दिउँसो ३ बजे शीतल निवासमा हुँदै छ ।
यसअघि रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री बनिसकेका छन् ।














