काठमाडौं, ५ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ ।
हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त भएको पदमा यसअघिको सरकारले कुनै निर्णय नगरी राखेको थियो ।
यसअघि एआईजी बढुवामा पनि उनलाई पछि पार्दै राजन अधिकारीलाई बढुवामा अगाडी ल्याइएको थियो । प्रहरीमा चार एआईजी रहेकामा केहीदिन अघि मात्रै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रमुखमा सरुवा गरिएको थियो ।
आधाभन्दा बढी एआईजी रिक्त हुँदा प्रहरीका महत्वपूर्ण विभागहरु रिक्त छन् । हाल एआईजीहरू केसी, अधिकारी र कार्कीसँगै सिद्धिविक्रम शाह कार्यरत छन् ।














