महोत्तरी, ५ असोज । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् ।
कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् । देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिएका थिए ।
शनिवार बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएको क्षेत्रीले बताए । कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि बिहानसम्म दुई सय ३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताए ।














