काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका चार युवाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सम्पन्न भएपछि परिवारजनले शवलाई आर्यघाट लगेर दाहसंस्कार गरेका थिए । अन्तिम बिदाइमा अभिभावक, आफन्त तथा स्थानीयबासीको ठूलो भीड थियो ।
सबै जना अत्यन्त भावविह्वल देखिन्थे । भदौ २३ र २४ गते भएका प्रदर्शनपछि मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृतकमध्ये काठमाडौं उपत्यका बाहेक अन्य जिल्लाका पनि नागरिक रहेका छन्।
तीन प्रहरी र एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रदर्शनको पहिलो दिन २१ जनाको ज्यान गएको थियो। तीमध्ये नौ जना कैदी थिए। बाल सुधार गृहमा रहेका पाँच र प्रहरीका तीन जनासमेत मृत भेटिएको प्रहरीले बताएको छ ।














