काठमाडौं, २६ भदौ । बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनलाई संविधानको दायराभित्रै समाधान गर्नुपर्ने आग्रह गरेको छ ।
आन्दोलनले २०७२ को संविधानलाई प्रतिक्रान्ति रोक्ने बलियो आधार भन्दै राष्ट्रपतिको अभिभावकत्वमा सबै पक्षबीच छलफल गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
आन्दोलनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई समेत संविधानबाहिरका गतिविधिमा सहकार्य गरिरहेको भए आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ । ‘नेपाली सेनाले नागरिकमाथि दवाव सिर्जना गर्ने गतिविधि अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि मेयर बालेनले यस्ता तत्वहरूसँग सहकार्य गरिरहेका छन् भने उनी प्रतिक्रान्तिका नायक ठहरिनेछन् ।’
आन्दोलनले सेना र अन्य निकायलाई प्रतिक्रान्तिकारीहरूसँगको सम्पर्क तोड्न, संवैधानिक मार्गबाट विमुख नहुन र भ्रष्टाचारविरुद्ध सतत संघर्ष गर्न आह्वान गरेको छ ।














