काठमाडौं, २२ भदौ । रुपन्देही–३ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार पूर्व गर्भनर चिरञ्जीवी नेपालले आकांक्षी देखिएका छन् ।
१७ कात्तिकमा रुपन्देही–३ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सहित सात जना आकांक्षी देखिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलका पूर्व आर्थिक सल्लाहकार समेत रहेका नेपालले रुपन्देही–३ क्षेत्रका मतदाताले उम्मेदवार हुन आग्रह गरेको बताए ।
पाल्पा जन्मस्थान रहेका नेपालको रुपन्देही–३ का पनि बासिन्दा हुन् । पञ्चायतकालमा नेपालले यसै क्षेत्रमा कांग्रेसबाट राजनीति समेत गरेको थियो । आकांक्षी नेपालले भने,‘मेरो घर रुपन्देही–३ मै छ । त्यहाँ पञ्चायतकाल देखि नै राजनीति गरेको हुँ ।’
कांग्रेसबाट अन्य आकांक्षीहरुमा रामचन्द्र ढकाल, सुशिल गुरुङ, रमेश खनाल, प्रमोद यादव, भरत शाह छन् । ढकाल रुपन्देहीका पूर्व सभापति हुन् भने गुरुङ निर्वाचन हुने क्षेत्रका सभापति हुन् । खनाल लुम्बिनी प्रदेश समितिमा छन् ।
आकांक्षी यादव गत निर्वाचनमा रुपन्देही–४ र शाहले रुपन्देही–५ मा प्रतिनिधिसभामा पराजित भएका थिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँण कांग्रेसबाट गत निर्वाचनमा यस क्षेत्रमा पराजित भएका थिए ।
यसपटक कांग्रेसले नयाँ विधि बनाएर उम्मेदवारलाई टिकट दिने भएको छ । आकांक्षी उम्मेदवारहरूका बारेमा क्षेत्रका मतदाताको धारणा अनौपचारिक रुपमा बुझेर टिकट वितरण गर्ने तयारी गरिएको छ ।
पार्टी केन्द्रबाट नेताहरु खटाएर अनौपचारिकरूपमा फरक फरक क्षेत्रमा आवद्ध व्यक्तिहरुको समेत धारणा सुनेर उम्मदेवार तय गर्ने कांग्रेसले जानकारी दिए ।














