काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले खतिवडाको निर्विरोध चयन भएको घोषणा गरेको हो।
यसअघि सभापति रहनु भएकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त पदमा खतिवडाले एकल उम्मेदवारी दिएका थिए । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडाको नाम प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का सांसद महेश बर्तौलाले त्यसलाई समर्थन गरेका थिए ।
खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति समेत रहिसकेका छन्। संघीय निजामति सेवा विधेयकमा विवाद उत्पन्न भएपछि उनलाई नैतिक तथा राजनीतिक जिम्मेवारीका आधारमा राजीनामा दिनु परेको थियो ।














