काठमाडौं, २० भदौ । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएका छन् ।
यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो । भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ ।
बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८ः५६ बजे भूकम्प गएका छन् । नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए ।
यद्यपि, बिहीबार रातिको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन। तर, स्थानीय चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँको अस्पतालमा १७ जना घाइते ल्याइएका छन् ।
संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा अहिलेसम्म १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन्। यी तथ्याङ्क २५ वटा गाउँबाट आएको प्रतिवेदनमा आधारित छन् ।














