काठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बनेर पैसा असुल्न खोज्ने दुई जना काठमाडौंमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा डोटी स्थायी घर भई हाल कीर्तिपुर बस्ने २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ घर भई काठमाडौं सुकेधारा बस्ने ५४ वर्षीय विनोद साह रहेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार साह योजनाकार हुन् भने पनेरुले फोनमार्फत पीडितलाई धम्क्याउने गरेका थिए । उनीहरूले टोखा–८ का एक व्यक्तिलाई फोन गरी “तपाईँ र परिवारको नक्कली नागरिकता प्रमाणित भएको छ, यस विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ“ भनेर डर देखाएका थिए ।
फाइल बन्द गर्ने भए एक करोड रुपैयाँ दिनु पर्ने, अन्यथा जेल हालिने चेतावनी उनीहरूले दिएका थिए । पटक–पटक फोनबाट धम्की आएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए ।
त्यसपछि प्रहरीले योजनाबद्ध रूपमा खोजी गरी उनीहरूलाई कलंकी क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानबाट उनीहरू अख्तियारसँग कुनै सम्बन्ध नभएको पुष्टि भएको छ । हाल उनीहरूलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।














