काठमाडौं, १९ भदौ । नेपाल पत्रकार महासंघले सरकारद्वारा लिइएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई असमयिक र अपरिपक्व कदम भन्दै विरोध जनाएका छन् ।
महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल आजको युगमा नागरिकहरूको सूचना आदान–प्रदान र स्वतन्त्र अभिव्यक्तिको प्रमुख माध्यम भएको बताउँदै त्यसलाई रोक्नु लोकतान्त्रिक मूल्यविरुद्ध हुने टिप्पणी गरे।
उनले भने, “नागरिकले सर्वाधिक प्रयोग गर्ने प्लेटफार्म बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित गर्नु हो। सरकारले सहजीकरणतर्फ जानुपर्नेमा प्रतिबन्धतर्फ गएको छ, जुन अपरिपक्व निर्णय हो।”
महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। “डिजिटल नेटवर्कको सुविधा नागरिकको मौलिक अधिकारसँग सम्बन्धित छ। यसलाई बन्द गर्नु समाधान होइन, सरकारले सच्याउनुपर्छ,” दाहालको भनाइ छ।
यसअघि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नगरेका सामाजिक सञ्जाल—फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायत—लाई आजदेखि क्रमशः बन्द गर्ने निर्णय गरेको थियो। मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।















