काठमाडौं, १७ भदौ । अर्घाखाँचीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेर शव घरको भान्छा कोठामै गाडेको घटना सार्वजनिक भएका छन् ।
प्यूठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका ३६ वर्षीय किरण गुरुङले ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङलाई हत्या गरी भान्छामा गाडेको प्रहरीले पत्ता लगाएको हो । उनी करिब आठ वर्षअघि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा आएर घर किनेपछि परिवारसहित बस्दै आएका थिए । सुमित्रा १२ भदौदेखि हराएपछि छिमेकी र माइती पक्षले १६ भदौमा प्रहरीलाई खबर गरेका थिए।
अनुसन्धानमा खटिएको टोलीले घरमै उत्खनन् गर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्र मल्लले जानकारी दिए । अनुसन्धानअनुसार १२ भदौको राति श्रीमान्–श्रीमतीबीच विवाद हुँदा किरणले मादक पदार्थ सेवनको अवस्थामा बाँसको लाठ्ठी र हंसियाले प्रहार गरी हत्या गरेका थिए।
त्यसपछि शवलाई कम्बलले बेरेर भान्छाकोठामा खाल्डो खनी गाडेको प्रारम्भिक तथ्य प्रमाण प्रहरीले सार्वजनिक गरेको छ । १६ भदौ राति घरभित्र गन्ध आउन थालेपछि प्रहरीको टोलीले शव उत्खनन् गरेर निकालेको हो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ ।
किरणलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। घटनास्थलबाट हत्या र शव गाड्न प्रयोग भएका बाँसको लाठ्ठी, हंसिया, बेल्चा, गैंची, सानो कोदालो बरामद गरिएको छ। साथै, ‘ओरेन्ज’ लेखिएको मदिराको खाली र भरी बोत्तल पनि भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा थिए र दुवैको यो दोस्रो विवाह थियो। किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्बाट ३ छोरी छन्। उनीहरूको सँगै बसाइमा जन्मेकी ९ वर्षीया छोरीले समेत घटनाबारे कसैलाई भन्न नसकेको प्रहरीले बताएको छ ।














