काठमाडौं, १७ भदौ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ क्षेत्र नं. १ (२) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया आगामी भदौ १९ गतेदेखि सुरु हुने जनाएका छन् ।
आयोगले जारी गरेको सूचनाअनुसार भदौ १९ देखि २५ गतेसम्म आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्न सकिनेछ ।
उपनिर्वाचन सोही क्षेत्रमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यानसम्बन्धी मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पद पूर्ति गर्न गर्न लागिएको हो ।
दल दर्ताका लागि राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिम आवश्यक विवरण र कागजात संलग्न गर्नुपर्नेछ । यसअन्तर्गत दलको नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति तथा प्रदेश–जिल्ला तहका पदाधिकारी र सदस्य संख्या उल्लेख गर्नुपर्नेछ ।
त्यस्तै, दलको पछिल्लो वार्षिक लेखापरीक्षण प्रतिवेदन, दल दर्ता तथा उम्मेदवार मनोनयन सम्बन्धी केन्द्रीय समितिको निर्णय प्रतिलिपि, उम्मेदवार सिफारिस गर्ने पदाधिकारीको विवरण र हस्ताक्षर नमूना, साथै संविधानको धारा २६९(४) अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्र समेत आवश्यक हुनेछ ।
नयाँ दल वा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरण समेत समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।














