काठमाडौ, १६ भदौं । कुवेतमा पतिको निधन भएपछि सोक सहन नसकी धनकुटाकी एक महिलाले पनि निधन भएकी छीन् ।
छोटो अवधिमा आमाबुबा दुवैलाई गुमाउँदा उनीहरूका तीन छोरी अहिले अभिभावकविहीन बनेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ३८ वर्षीय डम्बरबहादुर मगर भदौ ४ गते कुवेतमा मृत्यु भएको थियो । उनी गत वर्ष असार महिनामा रोजगारीका लागि कुवेत गएका थिए ।
विषाक्त मदिरा सेवनका कारण उनको निधन भएको प्रारम्भिक जानकारी आएको स्थानीय संयोजकहरूले बताएको छ । श्रीमान्को निधनको खबर पाएलगत्तै ३३ वर्षीया पत्नी विद्या मगर आघातमा परेकी थिइन् । भदौ ७ गते अचानक बेहोस भएपछि उनलाई महालक्ष्मी नगरपालिकास्थित जितपुर अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए ।
लगातार तीन दिनको अन्तरालमै दुवै जीवनसाथी गुम्दा गाउँ नै शोकमा डुबेको छ । मगर दम्पतीका तीन छोरीमध्ये जेठी १६ वर्षीया विपना धनकुटा सदरमुकामस्थित गोकुण्डेमा कक्षा १२ मा अध्ययनरत छिन् । माइली १५ वर्षीया सञ्जु त्यही विद्यालयमा कक्षा ११ मा पढ्छिन् भने कान्छी समिता मात्र दुई वर्षकी छिन् ।
विद्याको अन्त्येष्टि सम्पन्न भए पनि डम्बरबहादुरको शव अझै नेपाल आइपुगेको छैन । नगरपालिकाका रोजगार संयोजक गौरव कार्कीका अनुसार कुवेतस्थित प्रक्रियापछि छिट्टै शव ल्याइने तयारी भइरहेको छ । यसअघि गत जेठ महिनामा डम्बरबहादुरका बुबा हरिबहादुर सुस्लिङ मगरको पनि मृत्यु भएको थियो ।
एक वर्षमै एउटै परिवारका तीन सदस्य गुम्दा गाउँ नै स्तब्ध बनेको छ । आर्थिक अवस्था सामान्य रहेको परिवारमा आमाबुबा दुवै गुमेपछि तीन छोरीको भविष्यप्रति गाउँलेहरू चिन्तित छन् । स्थानीय विमला थापाले सञ्जु मगरको नाममा बैंक खाता खोलेर सहयोग संकलन अभियान सुरु गरिएको जानकारी दिएकी छन् ।














