काठमाडौं, १५ भदौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ ।
.शनिबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो । पूर्वी रुकुमको तकसेरा निवासी पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काले बताए ।
दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो । तर, उपचार सफल नहुँदा उनको निधन भएको खड्काले बताए । स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि मात्रै उनलाई थपचारको लागि काठमाडौँ ल्याइएको थियो ।
उनको एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य बनेकी थिइन् ।
पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समितिको सदस्यसमेत थिइन् ।














