काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।
उनी दिउँसो चीनको थियानजिन पुगेका छन् । थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारका वरिष्ठ अधिकारीहरू र नेपालका लागि चीनका राजदूत कृष्णप्रसाद ओली तथा चीनका लागि नेपालका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले आजै चिनियाँ राष्ट्रपति सि चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन् ।
उनले भदौ १६ गते (सेप्टेम्बर १) तियानजिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने र भदौ १८ गते (सेप्टेम्बर ३) बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सव कार्यक्रममा पनि सहभागी हुने तय छ । यस अवसरमा उनले विभिन्न देशका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।














