काठमाडौं, भदौ १३ । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पक्ष) बाट डा. सरोजसिंह चौधरी । डा. उमाशंकर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने भएका छन् ।
नाउपा दलभित्रको विवादका कारण उम्मेदवार स्वतन्त्रको हैसियतमा उठ्नेछन् । संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध पाँच मधेसवादी दलले रेशम पक्षधर उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
रुपन्देही नाउपा अध्यक्षका अनुसार सुरुमा ६ आकांक्षी भए पनि अन्ततः सरोज र उमाशंकर मात्र बलिया दाबेदारका रूपमा बाँकी रहेका छन् । सरोज दन्त चिकित्सक तथा नाउपाका प्रदेश कार्यवाहक अध्यक्ष हुन् भने उमाशंकर आयोगका पूर्व सदस्य हुन् ।
गत निर्वाचनमा नाउपाले यस क्षेत्रमा ४,७५१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेको थियो । यसैबीच, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले भने उम्मेदवारबारे हालसम्म कुनै तयारी नगरेको बताएको छ ।














