काठमाडौं, भदौ १३ । पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेका शवको हड्डी निकालेर बेचबिखन गरेको आरोपमा पक्राउ परेका चार जना व्यक्तिलाई धरौटीमा रिहा गरिएका छन् ।
धरौटीमा छुट्नेमा सर्लाही लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रे मण्डनदेउपुरका ६१ वर्षीय जीवनाथ ढकाल (गणेशप्रसाद), उदयपुर कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले प्रत्येकलाई १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनीहरू रिहा गरेको हो ।
घटनाको पृष्ठभूमिअनुसार, २३ साउनमा राम शाहीको शव पशुपतिमा अन्त्येष्टि गर्न ल्याइएका बेला आर्यघाट सेवा केन्द्रका जीवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली खटिएका थिए। दाहसंस्कारको क्रममा आधा शव जलिरहेको बेलामा ढकालले टाउकाको हड्डी निकालेर मैनालीलाई दिएका थिए ।
त्यसपछि मैनालीले सो हड्डी कपुरको डब्बामा राखी रामनन्दन ठाकुर र उनका सहयोगी मिश्रीलाल यादवलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ । शवको हड्डी बेचबिखन गरेको आरोपमा उनीहरूविरुद्ध मुलुकी फौजदारी संहिताअनुसार धर्मसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।














