जनकपुर, १२ भदौ । नेपाल–भारत सीमाबाट जैश–ए–मोहम्मद आतंकवादी समूहका तीन जना सदस्य भारतको बिहार राज्यमा प्रवेश गरेको आशंका गरिएको छ ।
भारतीय संचारमाध्यमका अनुसार, ती व्यक्तिहरू नेपालमार्ग हुँदै बिहार प्रवेश गरेका हुनसक्ने सूचना पाएपछि भारतीय सुरक्षानिकायहरू उच्च सतर्क अवस्थामा राखिएका छन् ।
भारतको प्रहरी मुख्यालयले सबै सुरक्षा निकायलाई हाई अलर्टमा राखेको छ भने गुप्तचर एजेन्सीहरूलाई समेत सक्रिय बनाइएको छ । इन्डिया टुडेले उल्लेख गरेअनुसार, ती तीन जना आतंककारीका नाम हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान रहेका छन् ।
उनीहरू पाकिस्तानी नागरिक भएको दाबी गरिएको छ । यद्यपि, ती आतंककारीहरूले कुन सीमा नाका प्रयोग गरेर र कहिले भारत प्रवेश गरे भन्नेबारेमा हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन ।
भारतीय न्यूज–एट्टिनको अनलाइन संस्करण अनुसार, ती आतंककारीहरूको तस्बिर, हुलिया र परिचय समेटिएको विवरण सबै प्रहरी इकाइहरूमा पठाइएको छ ।
उनीहरूको खोजीका लागि बिहारका सीमावर्ती जिल्लाहरूमा विशेष निगरानी बढाइएको छ । विशेष निगरानीमा रहेका जिल्लाहरु सतामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज, सुपौल यी क्षेत्रमा संदिग्ध गतिविधि देखिए तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आम जनतालाई समेत आग्रह गरिएको छ ।
भारतको ईटीभी भारत अनुसार, स्थानीय जनतालाई विशेष सतर्क रहन भनिएको छ भने प्रहरीलाई कुनै पनि आशंकास्पद गतिविधि प्रति चनाखो रहन निर्देशन दिइएको छ ।
गएको वर्ष २०२४ मा पनि यस्तै घटनामा नेपालमार्ग हुँदै भारत प्रवेश गरेको आरोपमा भारतीय सुरक्षा निकायहरूले तीन जनालाई पक्राउ गरेका थिए ।














