जनकपुर, ११ भदौ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थी पर्वको अवसरमा जनकपुरधामको रामचौकमा यस वर्ष पनि भव्य गणेश पूजनोत्सव मेला सुरु भएका छन् ।
गणेश युवा कमिटीको आयोजनामा सुरु भएको यो धार्मिक तथा सांस्कृतिक कार्यक्रम चार दिनसम्म चल्नेछ । गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतोका अनुसार स्थापना कालदेखि नै यो कमिटीले निरन्तरता दिँदै आएको पूजनोत्सव समाजमा धार्मिक आस्था जागृत गर्ने, सामाजिक सद्भाव बढाउने र सांस्कृतिक संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले आयोजना हुँदै आएको हो । महतोले पूजालाई भजन, कीर्तन, सांस्कृतिक प्रस्तुति र धार्मिक कार्यक्रमसँगै भव्य रूपमा मनाइने जानकारी दिए ।
उनले नगरवासी र श्रद्धालुहरूलाई पूजनोत्सवमा सहभागी भई धर्म, संस्कृति र समाजिक एकतालाई सुदृढ बनाउन आग्रह गरे । गणेश युवा कमिटी पूजामा मात्र सीमित नभई समाजसेवा र सांस्कृतिक संरक्षणसँग जोडिएका विभिन्न कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको बताइएको छ ।
शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको मानिन्छ । यही अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजासहित गणेश चतुर्थी पर्व धुमधामका साथ मनाइँदैछ ।















