काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाको कार्यशैलीविरुद्ध कबाड व्यवसायीले बुधबार पनि आन्दोलन जारी राख्दै नाराबाजी गरेका छन् ।
लगातार तेस्रो दिनसम्म जारी प्रदर्शन भृकुटीमण्डपबाट सुरु भएर कमलादीस्थित महानगर कार्यालयसम्म पुगेको थियो । सो क्रममा आन्दोलनकारीहरूले महानगर कार्यालय घेराउसमेत गरेका थिए ।
कबाड व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै महानगर प्रमुख बालेन्द्र शाहले व्यवसायीमाथि दबाब र ज्यादती बढाएको आरोप लगाएको छ ।
उनले सर्वोच्चको आदेशअनुसार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताए । यसैबीच, आन्दोलनलाई काठमाडौँका सुकुम्बासी समुदायले पनि समर्थन गरेका छन् ।
आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महानगरको कार्यप्रणालीविरुद्ध असन्तोष प्रकट गरे ।














