काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन् ।
मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको मनोनयन दर्ता समयभित्र उनीबाहेक अरु कसैले उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत सभापति बनेकी हुन् । औपचारिक घोषणा भने बुधबार बस्ने समितिको बैठकले गर्नेछ ।
यसअघि संघीय निजामति सेवा विधेयकमाथि ‘कुलिङ पिरियड’ प्रावधानलाई लिएर विवाद भएपछि तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
चलखेलबारे बनेको छानबिन समितिले उनलाई जिम्मेवार ठहर गरेपछि पद रिक्त भएको थियो । खाली भएको पदमा कांग्रेस नेतृत्वभित्र लामो छलफलपछि सभापति शेरबहादुर देउवाले न्यौपानेलाई अघि सारेका थिए ।
प्रारम्भमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूले दीलेन्द्र बडूलाई प्रस्ताव गरे पनि अन्ततः पदाधिकारी बैठकले न्यौपानेकै नाममा सहमति जुटाएको हो ।
न्यौपानेले मंगलबारै संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिँदै राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेकी थिइन् ।














