जनकपुर, १० भदौ । आज मिथिला क्षेत्रका गाउँबस्तीदेखि शहरी क्षेत्रमा चौरचन पर्व श्रद्धा, भक्ति र परम्परागत रीतिथितिका साथ मनाइँदैछ ।
हिन्दू पंचाङ्ग अनुसार भदौ महिनाको चौथी तिथिमा पर्ने यस पर्वमा चन्द्रमाको पूजा गरी व्रत बस्ने परम्परा छ। मिथिलाञ्चलमा यस पर्वलाई “चौरचन“ वा “चौठचन्द्र“को नामले चिनिन्छ ।
संस्कृतिविद्हरुका अनुसार, चौरचन केवल धार्मिक मान्यतासँग जोडिएको पर्व नभई पारिवारिक एकता र सामाजिक सम्बन्ध सुदृढ बनाउने सांस्कृतिक अवसरसमेत हो ।
“परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला भएर पूजा, प्रसाद ग्रहण र सामूहिक भोजन गर्ने चलनले आपसी स्नेह र सद्भाव बढाउँछ । पर्वको विशेषता भनेको महिलाहरु दिनभर निराहार व्रत बस्ने चलन हो ।
उनीहरूले साँझ चन्द्रमाको पूजा गरेपछि मात्र अन्न तथा जल ग्रहण गर्छन्। व्रतालु महिलाहरु विशेषगरी फलफूल, मिठाइ, दही, खीर, र पुरीजस्ता परिकार तयारी गर्छन् ।
धनुषाको महेन्द्रनगर व्रतालु सुधादेबीका अनुसार, चन्द्रमालाई दूध र जलले अर्घ दिइने परम्परा छ । चन्द्रमाको दर्शनपछि घरका सबै सदस्यहरुले पालैपालो आँगनमा राखिएको प्रसाद ग्रहण गर्ने परम्परा कायम छ ।
पर्व सम्पन्न भएपछि, परिवारका सदस्यहरु आँगनमा एकै साथ बसेर खीर, पुरी, मिठाइ र दही खाएर पर्वको समापन गर्ने चलन रहेको छ ।














