काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन र भारत भ्रमणमा जाने तयारी भईहेको बेला फेरि एकपटक नेपाल र भारतबीच भूमि सम्बन्धी विवाद बढेका छन् ।
नेपालले आफ्नो अभिन्न अंग भन्दै आएको लिपुलेक नाकाबाट भारत र चीनले व्यापार सुरु गर्ने सहमति गरेपछि विवाद बढेको हो ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी समेतका भूभाग समेटेर ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेर ओलीले राष्ट्रवादी छविको प्रचार गरेको थियो ।
ओलीको प्रतिष्ठाको विषयसँग जोडिएको त्यही चुच्चे नक्सा अहिले उनको चीन र भारत भ्रमणको मुखमा तरबारजस्तो बनेको छ ।
ओली शांघाइ सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाँदैछन् भने त्यहाँबाट फर्किएर भदौ अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ।
दुई छिमेकी मुलुकको भ्रमणमा बल्झिएको भूमि विवादको विषयले प्रवेश पाउला कि नपाउला र यो विवादको समाधान कसरी होला भन्ने चासो छ ।














