काठमाडौँ, ४ भदौ । गरिबीको रेखामुनी रहेकालाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले प्रस्ताव गरेका छन् ।
बुधवार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेको हो । उनले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने जनाए ।
उनले उच्च पदस्थ व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो? भन्दै प्रश्न गरे । विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको छिमेकी देश भारतले समेत मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता दिने गरेको उनले बताएको छ ।
नेपालमा भने राजनीतिक दलहरुले आफ्नो फाइदाका लागि समाजिक सुरक्षा भत्ता वृद्धिमा प्रतिष्पर्धा गर्ने गरेको उनले आरोप लगाए ।
उनले समाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टामा ६ हजार रुपैयाँ दिन पनि सकिने उल्लेख गर्दै तर उक्त भत्ता गरिबीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई मात्रै दिनुपर्ने जानकारी दिए ।














