काठमाडौं, २ भदौ । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे जानकारी दिएका छन् ।
उनले सोमबार एक पत्रकार सम्मेलन आयोजनामा घटनाबारे बताए । उनले करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको जनाए । ‘म गाडी लिएर प्रहरीकोमा गएँ ।
मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ प्रसाईंले भनेका छन्, ‘त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो ।’
त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईंले सुनाएकोे हो । त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले जनाए ।
साथै, उनले उपत्यकामा कफ्र्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको पनि बताएको छ ।














