एजेन्सी । इजरायली आक्रमण जारी रहेको गाजामा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार कुपोषणका कारण हालसम्म मृत्यु हुनेको संख्या २१२ जना पुगेको छ। तीमध्ये ९८ जना बालबालिका छन् ।
इजरायली सैन्य कारबाहीका कारण पछिल्लो २४ घण्टामा कम्तीमा ३८ जनाको मृत्यु र ४ सय ९१ जना घाइते भएको मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसैबीच, इजरायलले गाजा पूर्ण नियन्त्रणमा लिने नयाँ योजना सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको छ । इजरायली सुरक्षा मन्त्रिपरिषदले अनुमोदन गरेको यो योजनाअनुसार गाजाका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सारिनेछ ।
मानवअधिकार समूहसहित विभिन्न देशले इजरायलको उक्त योजनाको विरोध गरेका छन् । उनीहरूले गाजामा अझै ठूलो मानवीय संकट निम्त्याउने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघले गाजामा खाद्य संकट चरम अवस्थामा पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा खाद्यान्न लिने लाइनमा रहेका मात्रै कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
इजरायलले आगामी ७ अक्टोबरपछि गाजालाई पूर्ण नियन्त्रणमा लिने योजनासहित कारबाही गर्ने तयारी गरेको छ । गाजामा हालसम्म झण्डै ६२ हजार मानिस मारिएका छन् ।














