जनकपुर, १९ साउन । लामो समयदेखिको वर्षा अभावले सुक्खा संकट झेलिरहेको मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा व्यापक वर्षा भएको छ ।
सरकार आफैंले सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको यस प्रदेशमा परेको वर्षाले स्थानीय कृषक र बासिन्दामा केही हदसम्म राहतको अनुभूति ल्याएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो दिन सिराहाको विभिन्न केन्द्रहरूमा उल्लेख्य वर्षा मापन गरिएको छ । सिराहाको हाइड्रो केन्द्रमा सबैभन्दा धेरै १०१.६ मिलिमिटर वर्षा मापन गरिएको हो । त्यस्तै, लहान केन्द्रमा ७७.२, गोलबजारमा ५२.८ मिलिमिटर वर्षा भएको छ।
महोत्तरीको गौशालामा ५८ मिलिमिटर, सर्लाहीको परवानीपुरमा ४८.४, र धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर वर्षा मापन गरिएको छ । धनुषाकै तुलसी केन्द्रमा ४७.८, कल्याणपुरमा ४९.४, तथा बरमझिया केन्द्रमा ९३ मिलिमिटर र रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।
वर्षाको यो मात्रा यद्यपि सबै क्षेत्रका लागि पर्याप्त नहुन सक्छ, तर दीर्घकालीन सुक्खाको सन्दर्भमा यो एक सकारात्मक संकेतको रूपमा हेरिएको छ ।
बाली बचाउन र भूमिगत जल पुनः भर्नका लागि यस किसिमको वर्षा निर्णायक हुन सक्छ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार, आज रातिसम्म देशभर सामान्यतया बदली रहनेछ ।
मधेशसहित कोशी, बागमती, गण्डकी प्रदेशलगायत तराईका अधिकांश भूभाग तथा पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।














