काठमाडौँ, १८ साउन । मधेस केन्द्रित ७ दलीय मोर्चाको जनजागरण अभियानमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी अनुपस्थित भएका छन् ।
रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर मोर्चामा मतभेद भएपछि जनमत पार्टी मोर्चाको कुनै पनि बैठकमा नगएकोे छ । असार १२ गते बसेको मोर्चाको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गनुभएको थियो ।
तर त्यो निर्णयको विपक्षमा गएर जनमत पार्टीले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसयता सो पार्टी मोर्चाको कुनै पनि गतिविधिमा सहभागी भएको छैन । मोर्चाको जनजागरण अभियान काठमाडौँको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको हो ।
मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको हो । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने जनाएको छ ।
गत चैतमा घोषणा भएको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेको छ ।














