जनकपुर, १३ असार । जनकपुरका दुई स्थानमा चीनको एक संस्थाले ‘स्वच्छ पानी अभियान’को सुरुवात गरेको छ ।
शिक्षा र दलित समुदायमा आधारभूत सुविधाको अभाव कायमै रहेको बेला विदेशी सहयोगबाट पानी उपचार संयन्त्र (Clean Water Treatment Plant) को उद्घाटन तथा हस्तान्तरण गरिएको हो । यो परियोजना नेपालस्थित चिनियाँ दूतावासद्वारा डिजाइन गरिएको Chin Foundation for Rural Development (CFRD) तथा Chin Embassy Youth Pioneers को सहकार्यमा सञ्चालनमा आएको हो ।
यस अभियानअन्तर्गत पहिलो चरणमा श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (जनकपुर–८ र दलित बस्ती (जनकपुर–११) मा उक्त संयन्त्र स्थापना गरिएको छ । योजना अनुसार, यी संयन्त्रहरूले स्थानीय समुदाय र विद्यालयका विद्यार्थीहरूलाई सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउनेछन् ।
पानीजन्य रोगहरूको रोकथाम र स्वास्थ्य सुरक्षामा यसले ठुलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ । तर, यो सहयोगले एउटा गहिरो प्रश्न पनि उठाएको छ के सरकार आफैंले यस्तो आधारभूत सेवा दिन नसक्ने अवस्थामा पुगेको हो? देशका तीन तहका सरकारबीच बजेटको अभाव होइन, प्राथमिकतामा बेमेल देखिएको छ ।
शिक्षण संस्थाहरू र दलित बस्तीहरूमा पिउने पानीको कुनै व्यवस्था राज्यले गर्न नसकेको अवस्थाले यो प्रष्ट पारेको छ कि दलित समुदाय र शिक्षामा अझै पनि विभेद र बेवास्ता कायम छ ।
एक स्थानीय अभिभावक भन्छन्, “हामी आफ्नै सरकारबाट पानीको आश गर्नुको साटो विदेशी संस्थाबाट पानी पाउन बाध्य छौं ।
यो कति लाजमर्दो हो?” यो परियोजना स्वयं स्वागतयोग्य छ, तर विदेशी संस्थाले हस्तक्षेप नगरेसम्म हामी आफ्नै नागरिकलाई पानीसमेत दिन सक्दैनौं भने हाम्रो शासन व्यवस्थामाथि नै प्रश्न उठ्छ ।














