एजेन्सी । इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।
कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ । इरानको रिभोलुसनरी गाड्र्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ। कतारी रक्षा मन्त्रालयले कुनै मानवीय क्षति नभएको बताएको छ ।
अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । पश्चिम एसियाका अनेकौँ मुलुकमा ४० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।
इरानले यहाँ आक्रमण गर्नुअघि कतार सरकारलाई जानकारी दिएको इरानी अधिकारीहरुले बताएका छन् । त्यसैले यसलाई थुप्रैले सांकेतिक हमलाका रूपमा पनि लिएका छन् ।
तथापि कतारका लागि यो हमला अभूतपूर्व हो । आक्रमणपछि इरानको रिभोलुस्नरी गाड्र्सले अमेरिका र इजरायललाई अब हानेर भाग्ने युग नरहेको भन्दै चेतावनी दिएको छ ।
अमेरिकी अधिकारीलाई उधृत गर्दै सीएनएनले जनाएअनुसार कतारमा इरानले छोटो दूरी र मध्यम दूरीमा प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेको हो ।
इरानका आणविक केन्द्रहरुमा अमेरिकाले आक्रमण गरेलगत्तै उसले बदला लिने आकलन गरिएको थियो । त्यसैले अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई सोमबार बाहिर ननिस्किन भनेका थिए । कतारले पनि आफ्नो आकाशमा उडान रद्द गरेको थियो ।














