काठमाडौं, ४ असार । इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम राखेर सन् २०२५ जुन १३ शुक्रबारको दिन इरानमाथि आक्रमण सुरु गर्नु भएका छन् ।
लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रियो । ६ दिनदेखि यो युद्ध क्रम जारी छ । ९० लाख जनसंख्या भएको इजरायल ८ करोड ८० लाख जनसंख्या भएको पश्चिम एसियाको विशाल देश इरानसँग भिडिरहेको छ ।
त्यसैले भूगोलमा पनि सानो इजरायलको लडाइँ इरानसँग असमान देखिन सक्छ । तर इजराइलको शक्तिशाली र अत्याधुनिक सेना हाबी हुने गरेको छ । इजराइलसँग अधिकांश हतियार छन् । धेरैजसो अत्याधुनिक हतियार इजरायलले अमेरिकाबाट प्राप्त गरेको छ ।
इजराइलले अहिलेसम्म के हासिल गयो ?
इजराइलले हमासविरुद्ध गाजा क्षेत्रमा र इरानमा एकसाथ आक्रमण गरिरहेको छ । पछिल्लो अवस्थामा इरानको राजधानी तेहरानको हवाई क्षेत्रमाथि ‘पूरा नियन्त्रण’ प्राप्त गरेको इजरायलले दाबी गरेको छ । बीबीसीले पनि इरानसँगको संघर्षमा हालसम्म इजराइलको हवाई क्षेत्रमा पूरै दबदबा देखिएको जनाएको छ । अमेरिकामा निर्मित इजरायलका युद्धक विमानहरूले टार्गेट गरेकै स्थानमा बम खसालेका छन् ।
इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।
इरानसँग कति छ हतियार ?
अमेरिकी अनुमान अनुसार, इजरायली आक्रमण अघि इरानसँग पश्चिम एसियामा सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइल भण्डार थियो, जसको अनुमानित संख्या २,००० देखि ३,००० को बीचमा थियो ।
यद्यपि, इजराइलले तीमध्ये केहीलाई निशाना बनाएर ध्वस्त पारिसकेको छ । इजरायलले सतहबाट सतहमा प्रहार गर्ने इरानी प्रक्षेपकहरूमध्ये एक तिहाइ नष्ट गरिसकेको दाबी गरेको छ । इजरायलले मिसाइल बनाउने इरानका कारखानाहरूमा पनि आक्रमण गरेको छ ।
इरानको परमाणु शक्ति
इरानको परमाणु केन्द्र विश्वका धेरै देशलाई टाउको दुखाइको विषय बनिरहेको छ । गत साता संयुक्त राष्ट्रसंघको परमाणु निगरानी संस्था आईएईएले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा इरानले ६० प्रतिशत शुद्धतासम्मको युरेनियम संकलन गरेको उल्लेख छ ।
इरानको फोर्दो युरेनियम प्रशोधन केन्द्र
एजेन्सीका अनुसार, यदि यो स्तर ९० प्रतिशतसम्म पुग्यो भने, प्राविधिक रूपमा त्यसबाट परमाणु बम बनाइने सम्भावना हुन्छ । त्यसैले एजेन्सीले यसलाई गम्भीर चिन्ताको विषय भनेको छ ।
इरानले भने आफ्नो परमाणु कार्यक्रम बम बनाउने उद्देश्यका लागि नभई नागरिकले प्रयोग गर्ने ऊर्जाका लागि भएको बताउँदै आएको छ । तर आईएईएले इरानको परमाणु कार्यक्रम शान्तिपूर्ण छ भन्नेमा शंका व्यक्त गर्दछ ।
इरानले आफ्नो परमाणु कार्यक्रमको सुरुवात १९७४ मा गरेको थियो । तत्कालीन शासक शाह रजा पहलवीले देशको ऊर्जा आवश्यकता पूरा गर्न परमाणु ऊर्जा प्रयोग गर्ने योजना ल्याएका थिए । यसैअनुसार इरानको परमाणु ऊर्जा संगठन स्थापना गरिएको थियो ।
योजना अनुसार देशभर २० वर्षभित्र २० भन्दा बढी परमाणु संयन्त्र बनाउने भनिएको थियो, तर कार्यक्रम धेरै ढिलो गतिमा अघि बढ्यो । यद्यपि यसका लागि प्रारम्भिक कदम १९५७ मा उठाइसकेको थियो । त्यतिबेला उसले अमेरिकासँग परमाणु सहकार्यको सम्झौता गरेको थियो ।
यो पनि पढ्नुहोस
बंकर बस्टर बम के हो ? जसले इरानी भूमिगत आणविक केन्द्र ध्वस्त पार्न सक्छ
अहिले अमेरिकालाई पनि इरानको परमाणु संयन्त्र चिन्ताको विषय बनेको छ । ट्रम्पले बोलाएको बैठकमा इरानको परमाणु केन्द्रमा आक्रमण गर्नेबारे छलफल भएको थियो । इजरायल र इरानबीच लडाइँ चर्किंदै गएपछि जी–सेभेनको बैठक नसकिँदै ह्वाइटहाउस फर्किएका ट्रम्पले वरिष्ठ सैन्य अधिकारीहरूसहित छलफल गरेका थिए । सो बैठकमा इरानका परमाणु केन्द्रहरूमा हमलाका विषयमा केन्द्रित रहेको बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएस न्यूजले जनाएको छ ।
इरानको फोर्दोस्थित जमिन मुनि ९० मिटर तल रहेको भूमिगत युरेनियम प्रशोधन केन्द्रलाई निशाना बनाउनेबारे कुराकानी भएको बीबीसीले जनाएको छ । त्यसलाई ध्वस्त पार्ने क्षमता अमेरिकाको बंकर बस्टर बम (जीबीयू–५७ एमओपी बम)सँग मात्र भएको बताइन्छ । त्यसले जमिनभन्दा ६१ मिटर मुनिसम्म प्रहार गर्न सक्छ ।
बंकर बस्टर बम
तर निरन्तर प्रहार गर्दा त्योभन्दा तलसम्म पनि क्षति पु¥याउन सकिने बताइन्छ । तर ट्रम्पले बोलाएको बैठकमा के गर्ने भन्ने निर्णय भएको छैन । यसबीचमा अमेरिकाले ३० वटा लडाकू जेट र बम वर्षक विमानहरूलाई आवश्यक इन्धन भर्नका लागि पठाएको समाचारहरू पनि सार्वजनिक भइरहेका छन् ।
ट्रम्पले इरानको राजधानी तेहरान खाली गर्न र विनासर्त आत्मसमर्पण गर्न पनि भनेका थिए । तर इरानका सर्वोच्च नेता खामेनीले आत्मसमर्पण नगर्ने भन्दै मिसाइल आक्रमण गरेका छन् ।
इरानका सहयोगी को–को छन्, के सहयोग गर्न सक्छन् ?
इरानले धेरै वर्षसम्म गाजा क्षेत्रमा हमास र लेबनानमा हिज्बुल्लाहलाई हतियार र प्रविधि उपलब्ध गराउँदै आएको छ । यद्यपि, पछिल्ला दुई वर्षमा इजरायली कार्यबाहीले यी दुबैको अग्रपंक्तिमा चुनौती दिने क्षमतालाई समाप्त गरिदिएको बताइन्छ ।














