काठमाडौँ, १ असार । राष्ट्रिय मानवअधिकार आयोगले सञ्चारगृहमाथिको धम्की, दुव्र्यवहार जस्ता कार्य बन्द गर्न र यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रह गरेको छ।
आयोगले आज विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई धम्की,पक्राउपुर्जी जारी जस्ता घटना मानवअधिकारका मूल्य मान्यताविपरीत रहेको जनाएको हो ।
आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदिन पनि आग्रह गरेको छ । विगत केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन गरेको तथा सामाजिक सञ्जालको माध्यमबाट आफ्ना विचार तथा अभिव्यक्ति प्रकट गरेको आधारमा पत्रकार एवं सामाजिक सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की, दुव्र्यवहार लगायतका घटनाहरू भइरहेकोप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
आयोगले यस सम्बन्धी विभिन्न सूचना तथा जानकारी र पछिल्लो घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । ‘समाचार प्रकाशन गरेबापत जिम्मेवार अधिकारीले पत्रकार तथा प्रकाशनगृहमाथि धम्की दिइएको र पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको लगायतका घटना सार्वजनिक हुनुका साथै आयोगमा समेत जानकारी प्राप्त भएका छन्, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ तथा नेपाल पक्षराष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्ताराष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा प्रत्येक व्यक्तिलाई बिनाहस्तक्षेप विचार राख्न पाउने अधिकारको उल्लेख छ, नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिनुका साथै धारा १९ मा सञ्चारको हकअन्तर्गत प्रकाशनमा पूर्वप्रतिबन्ध लगाउन नपाइने र धारा १७ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ’ ’विज्ञप्तिमा उल्लेख छ ।
आयोगले पत्रकारिताको आचारसंहिता र व्यवसायीक मर्यादाको सीमाभित्र रहेर सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी आमसञ्चार जगत्को गरिमा कायम गर्ने कार्यमा भूमिका खेल्न सम्पूर्ण पत्रकार तथा सञ्चारगृहहरूलाई आग्रह पनि गरेको छ ।














