काठमाडौं, २५ जेष्ठ । अमेरिकाबाट ४० जना नेपालीलाई चार्टर्ड विमानले काठमाडौं आई रहेका छन् ।
नेपालको अध्यागमन कार्यालयको अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अधिकृत अञ्जन न्यौपानेलाई अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरुलाई पुष्टि गरे पनि संख्या भने एकिन नभएको जनाए ।
‘हामीलाई १०–१२ दिन अगाडि नै नेपालीहरुलाई डिपोर्ट गरिएको भनेर पत्र आएको थियो । त्यसमा नेपालीहरुको संख्या एकिन छैन,’ प्रवक्ता न्यौपानेले भने, ‘काठमाडौं अवतरण भइसकेपछि संख्या खुल्ला ।’ अध्यागमनका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ ।
सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो । अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने बताएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।
भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गरिरहेको छ ।
आज काठमाडौं अवतरण गर्न लागेका नेपालीहरुलाई भने के कारणले डिपोर्ट गरिएको हो भन्ने व्यहोरा पत्रमा स्पष्ट नखुलेको प्रवक्ता न्यौपानेले जनाए ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अध्यागमन विभागले बताए ।
अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरुमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ ।
दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।














