काठमाडौं, ११ जेठ । सत्तारुढ नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने निर्णय गरेको छ ।
आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले आम जनसमुदायलाई जेठ १५ गते गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोख्रेलले जानकारी दिए ।
‘समसामयिक विषयमा केन्द्रित भएको यो बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको महासचिव पोख्रेलले बताए ।
त्यसै गरी, पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘ काठमाडौँ उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि नेपाल जन सांस्कृतिक महासंघलाई त्यस कार्यक्रमको संयोजन गर्ने हिसाबले अगाडि बढ्ने र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।














