काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाले भोलि सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसबाट गृहमन्त्री रहेका रमेश लेखकको राजीनामा माग भइरहेका बेला बैठक बोलाइएको छ ।
भिजिट भिसामार्फत भएको मानव तस्करीमा आर्थिक लेनदेनको आरोप लागेपछि कांग्रेसभित्रै पनि गृहमन्त्री लेखकको राजीनामा माग हुन थालेको छ ।
यसका साथै, आउने संसद् बैठक, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बर्ताका छन् । कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ ।














