काठमाडौं, ४ जेष्ठ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् ।
आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन भनेका छन ।
थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला । उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहन निर्देशन दिए ।
गतसाता नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल पुलिसका जवानमाथि हातपात गरेको दृश्यले प्रहरी संगठन बदनाम भएको कुरालाई इङ्गीत गर्दै थापाले त्यस्तो निर्देशन दिएका हुन् ।














