काठमाडौं, ३ जेष्ठ । जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व भएको बताएका छन् ।
सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकोमा जोड दिएका हुन् ।
हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
आजको कार्यक्रममा विश्ववन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले प्रमुख वक्तव्य दिएका थिए ।
हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसङ्ख्यालाई लाभ पु¥याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिका अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो ।














