काठमाडौं, ३ जेष्ठ । हावाहुरीले ढालेको रुखले लागेर नवलपरासी र कैलालीमा तीन जनाको मृत्यु भएको छ ।
घटनामा अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभएको छ ।
हावाहुरीसहित आएको पानीबाट जोगिन सडक किनारमा रहेको प्रतिक्षालयमा ओत लागेको बेला रुख भाँचिएर बज्रिँदा उनीहरुको मृत्यु भएको हो ।
उक्त घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरि कैलालीमा पनि हावाहुरीका कारण रुख ढल्दा एक शिक्षकको मृत्यु भएको छ ।
हावाहुरीले रुख ढल्दा राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाराको कोल्हवी ३ मा हावाहुरीले ढालेको रुख सडकमा गुडिरहेको अटोमा बज्रिँदा स्थानीय सिकेन्द्र चौधरी घाइते भएका छन् । सर्लाहीमा पनि हावाहुरीले धेरै घरका छाना उडाउनुका साथै आँप, लिचीसहितका फलफूल बालीमा पनि क्षति गरेको छ ।
हावाहुरीले नवलपरासी, कैलाली, बारा,धनुषा, कञ्चनपुर, सर्लाही, चितवन , उदयपुर, सिराहा लगायतका जिल्लामा क्षति गरेको छ ।














