काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन समयको सबैभन्दा ठूलो चुनौती बनिरहेको बताएका छन् ।
जलवायु परिवर्तनको असरमा नेपालको भूमिका नरहे पनि नेपालले सबैभन्दा बढी क्षति ह्ुन अनुमान रहेको चिन्ता व्यक्त गरेको हो । ‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले पृथ्वी, जनता, समृद्धिमा ठूलो प्रभाव पारेको जनाएको छ ।
प्रधानमन्त्री ओलीले भने ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो ।’ ‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन ।
तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ ।
पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं ।’ उनले वातावरण संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको जनाएको हो ।
पृथ्वी, महासागर र मानवता जोगाउन हिमालहरू जोगाउनु आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।














