काठमाडौँ, २५ बैशाख । सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ ।
भारत–पाकिस्तान द्वन्द्वपछि सिमानामा कडाइ गरेको सशस्त्र प्रहरीले यस्तो सक्रियता देखाएको हो। वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरेको एपीएफले जनाएको छ ।
भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोल वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । वैशाख २३ गते ५ सय ६४, वैशाख २४ गते ६ सय ४० र वैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको हो ।
ती क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजार भन्दा बढी सशस्त्र प्रहरी जनशक्ति परिचालन गरिएको छ ।














