खोटाङ, २४ बैशाख । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ ।
फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको छ ।
दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिएका छन ।
गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं १ लिकुवापोखरीका चार, वडा नं २ वाप्लुखाका एक, वडा नं ३ सावाकटहरेका चार, वडा नं ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ ।
अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू हर्षित भएका गाउँपालिकाका अध्यक्ष राईले बताएका छन । गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए ।














