काठमाडौं, २४ वैशाख, । पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरेका छन् ।
प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन् । अलजजिराका अनुसार शरीफले विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा पनि स्थगित गरिने जनाएकी छन्, तर अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने बताएका छन् ।
पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेपछि स्थिति तनावग्रस्त बनेको छ । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो हमलामा बालबालिकासहित दुवै देशका नागरिकहरू मारिएको खबर आउन थालेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरुमा गोलाबारी र विष्फोटका रिपोर्टहरू आएको छ । भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ ।
सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।














