एजेन्सी । भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले पाँच भारतीय वायुसेना जेटहरू खसालेको दाबी गरेको छ ।
भारतले आक्रमणमा पठाएका तीन राफेल जेट, एक मिग–२९ र एक एसयू–३० लडाकु विमान र एक ड्रोन खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
भारतले बुधवार बिहान पाकिस्तानी भूभागमा मिसाइल हमला गरेको थियो । मिसाइल हमलाले पाकिस्तानको घना बस्ती भएको पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा रहेको कथित ‘आतंकवादी पूर्वाधार’ लाई निशाना बनाएको भारतीय मिडियाले जनाएका छन् ।
यो हमला भारत प्रशासित कश्मीरमा भएको पर्यटकहरूको हत्याकाण्डको दुई हप्ताभन्दा बढी समयपछि भएको हो, जसलाई नयाँ दिल्लीले आफ्नो छिमेकीमाथि दोष लगाएको थियो ।
पाकिस्तानी सुरक्षा स्रोतको ब्रिफिङले जेटहरू कहाँ र कसरी खसालिए भन्ने कुरा खुलाएन । स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि गर्न नसकेको र भारतीय सरकारसँग प्रतिक्रियाको लागि सम्पर्क गरेको सीएनएनले जनाएको छ ।
बुधवार बिहानदेखि दुवै पक्षले सीमामा गोलीबारी र गोला हानाहान गरेका छन् । पाकिस्तान प्रशासित कश्मीरमा रहेका सीएनएन पत्रकारहरुले धेरै ठूला विस्फोटहरू सुनेको समाचारमा जनाइएको छ ।
भारत प्रशासित कश्मीरको सबैभन्दा ठूलो शहर श्रीनगरका प्रत्यक्षदर्शीहरूले शहरमा विस्फोट भएको बताएका छन् ।














