काठमाडौं, १८ वैशाख । सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजीसमेत गरेको छ ।
त्यसअघि कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर असन्तुष्टि जानकारी दियो । विद्यालय कर्मचारीहरुले आफूहरुको माग समावेश नगरेको भन्दै प्रश्न उठाएका थिए । आफूहरुको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरुले असन्तुष्टि बताएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
सहमध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको उर्जाको प्रतिफल भएको दाबी गरिन् । त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने स्पष्ट पारिन् । उनले आन्दोलन अझैपनि जारी रहेको र शिक्षक कर्मचारीको मागमा कुनैपनि हालतमा पछि नहट्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट छोटो समयमा पारित गर्ने र आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको उनको भनाई थियो ।
विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबारमात्र सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए।














