काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गने देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरुलाई आग्रह गरेको छ ।
उनले मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको प्रशंसा गरेको हो । उनले विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरुप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताएको छ ।
उनले विदेशमा रहेका नेपालीलाई नेपालको वा सम्बन्धित देशको कानूनले पारेको समस्याका बारेमा नयाँ कानून बनाएर समाधान गर्न प्रयास गर्ने जनाएको हो । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ रहेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विदेशमा रहेका शिक्षित नेपाली नागरिकले सहयोग गर्नुपर्ने बताएको हो ।














