काठमाडौँ, १५ वैशाख । भारतीय नागरिकसँग साबुत नभएको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले भारतको बलरामपुर जिल्ला तुलसीपुर थाना सोनपुरका ४२ वर्षीय शिवा पटवा भन्ने आशीष कुमारलाई चन्द्रौटास्थित ग्यालेक्सी टोलको एक भाडावाला कोठाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका आशीष कुमारको साथबाट ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जनाएको छ ।
उनी गैरकानुनी हुण्डी कारोबारी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ गरेका आशीषलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर प्रक्रिया अघि बढाएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।














