जनकपुरधाम, १२ वैशाख । नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको संयोजनमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सयौं चिकित्सकले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा धर्ना दिएका छन् । चिकित्सकहरूको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र पनि बुझाएको छ ।
ज्ञापनपत्रमा अविलम्ब भत्ता सम्बन्धी निर्णय सच्याउन, चिकित्सकहरूमाथि भइरहेको अन्याय अन्त्य गर्न र स्वास्थ्य क्षेत्रप्रति सरकार गम्भीर बन्नुपर्ने माग गरेको छ ।
नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य डा. अमित रञ्जन मिश्राका अनुसार सरकार तथा सम्बन्धित निकायले आफ्नो निर्णय सच्याउने र चिकित्सकहरूको जायज मागलाई सम्बोधन गर्ने आश्वासन नदिएसम्म आन्दोलन जारी रहनेछ ।














