गोदावरी, चैत २७ । कैलालीको अत्तरिया बजारस्थित दुर्गा मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
बुधबार अन्दाजी ३६–३८ वर्षका एक पुरुषको टाउकोमा ढुङ्गाले प्रहार गरिएको र आँखासमेत फुटेको अवस्थामा शव भेटिएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले टाउकोको बायाँ भागमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा ढुङ्गा नजिकै पुरुषको शव फेला परेको जानकारी दिएका छन ।
शव मन्दिरको दक्षिण प्राङ्गणमा फेला परेको भए पनि रगतका धारा मन्दिरभित्र र आसपासका क्षेत्रसम्म फैलिएको थियो । मन्दिरका पुजारी टिकादत्त पनेरुले मन्दिरको ढोका बन्द गरेर राति घर फकिएको बताउनुभएको छ ।
स्थानीयवासीका अनुसार बुधबार बिहान साढे ६ बजे पतञ्जली योग समितिका एक सदस्यले शवको बारेमा प्रहरीलाई जानकारी गराएको थियो । शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














