काठमाडौं, २५ चैत । चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’लाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् ।
उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ । उनैले जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।
राप्रपा र दुर्गा प्रसाईंले आयोजजना गरेको प्रदर्शन हिंसात्मक बन्दा त्यहाँ दुई जनाको ज्यान गएको थियो । पछि प्रहरीसहित सरकारी गाडी, व्यक्तिका गााडी आगजनी गरेका थिए ।
विभिन्न ठाउँका सीसीटीभी तोडफोड गरेका उनीहरुले भाटभटेनी कम्प्लेक्समा लुटपाट गरेका थिए। यी घटनामा प्रहरीले ७० बढीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री समेत रहेका सांसद धवल शमशेर राणा पनि हिरासतमा छन् ।












