रुपन्देही, २३ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजनीतिक अस्थिरताको कारक कांग्रेस–कम्युनिष्ट भएको आरोप लगाएका छन् ।
उनले राजनीतिक अस्थिरताकै कारण मजबुत सरकार बन्न नसकेको बताए । पार्टी निकट समाजवादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै अध्यक्ष यादवले मजबुत सरकार बनाउँछौं भनेर कांग्रेस–कम्युनिष्ट मिले पनि यो सरकार असफल भएको दाबी गरे ।
उनले संविधान जारी भएपछि मुलुकमा ९ वर्षमा १३ वटा सरकार बनेर अस्थिरता बढेको बताए । नेपालको वर्तमान सरकार गठनअघि भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन दिने भने पनि नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र अहिले भइरहेको अध्यक्ष यादवले दाबी गरे ।
कार्यक्रममा पार्टीका महासचिव रामकुमार शर्मा, उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य रेखा यादव, केन्द्रीय सदस्य विन्देश्वर यादव, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले आन्दोलनमा पार्टीले उठाएको मुद्दा स्थापित गर्न आन्दोलनमा जान तयार रहेको बताए ।












